Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

पीडित टहरामै, सीईओ विदेश

काठमाडौँ, जेष्ठ ११ गते । भूकम्पले घर पूर्णरूपमा क्षतिग्रस्त भएका पाँच लाखभन्दा बढी परिवार अझै पनि टिनको साँघुरो टहरा र त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनसमेत सुरु हुने बेला भइसक्यो, वर्षायाम टहरा र त्रिपालमा कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितहरूलाई सताइरहेको छ ।



भूकम्पपीडितहरूका लागि वर्षायाम अगावै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली कहाँ छन्, उनकै कार्यालयका कर्मचारीहरूलाई समेत थाहा छैन । ‘भूकम्पपीडितहरूको घर पुनर्निर्माण गराउन अहोरात्र खटिनुपर्ने सीईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु,’ प्राधिकरणका एक अधिकारीले भने ।

प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य चौकी र पुरातात्त्विक सम्पदाको पुनर्निर्माणको ठोस योजनासमेत बनाउन सकेको छैन । ज्ञवाली आफ्नो पुनर्निर्माणको त्यति ठूलो दायित्व बिर्सेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोलीमा बसेर १० दिने टर्की भ्रमणमा व्यस्त छन् ।

टर्कीमा भइरहेको राष्ट्रसंघीय मानवता सम्मेलनमा ज्ञवालीको कुनै अर्थ नराख्ने भए पनि लामो प्रयास गरेर उनी त्यसतर्फ गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए ।
भूकम्पपछिको पुनर्निर्माण कार्यलाई गति दिन नसकेका ज्ञवालीसमेत राष्ट्रसंघीय सम्मेलनमा जाने प्रस्ताव आउँदा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भूकम्पपीडितहरूलाई टहरा र त्रिपालमा राखेर पुनर्निर्माण प्राधिकरणका प्रमुख नै विदेश जाँदा नराम्रो सन्देश जाने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सीईओ ज्ञवाली प्रधानमन्त्री केपी ओलीको सातदिने चीन भ्रमणका क्रममा बिना काम पूरै अवधि सँगै बसेका थिए । प्राधिकरणका अधिकारीहरूले समयमै दायित्व पूरा गर्न नसक्दा ५ लाख भूकम्पपीडित परिवारमध्ये मुस्किलले ८ सय परिवारलाई घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ दिनेबाहेक अरू कुनै ठोस काम हुन सकेको छैन ।

भूकम्प गएको १३ महिना बढी भइसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकहरूसमेत चिन्तित भएका छन् भने काम सुरु नभएका कारण युरोपियन युनियनलगायत दाताको सहयोग रकमसमेत फिर्ता हुन थालिसकेको प्राधिकरणका अधिकारी बताउँछन् ।

भूकम्प गएको लगत्तै पुनर्निर्माणका लागि सरकारले दाता सम्मेलन गर्दा दातृ निकाय तथा मुलुकहरूले साढे चार खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकको सहयोग रकम आउन सकेको छैन भने आइसकेको कतिपयको सहयोगसमेत फर्कन थालेको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सीईओ ज्ञवाली राष्ट्रसंघीय सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माण र वैदेशिक सहयोगका बारेमा कार्यपत्र प्रस्तुत गर्न टर्की गएको आफूले सुनेको कान्तिपुरलाई बताए । ज्ञवाली परराष्ट्रमन्त्री थापासँगै शुक्रबार टर्की गएका हुन् । उनी राष्ट्रसंघीय मानवता सम्मेलनपछि २७/२८ तारिखमा हुने राष्ट्रसंघकै इस्तान्बुल एक्सन प्लान समीक्षा बैठक अवधिमा समेत टर्कीमा रहनेछन् ।

  • कान्तिपुर समाचार बाट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget