आज साउने सक्रान्ति, मुलुकभर मनाइँदैछ । साउने संक्रान्तिलाई हिन्दू धर्मावलम्बीहरुले पर्वका रुपमा मनाउने गर्छन् । मुलुकका केही स्थानमा रोपाईं सकिएको रुपमा पनि यो पर्व मनाउने गरिन्छ ।
असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने खटिरा, लुतो आदि आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी आजको दिन लुतो फाल्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी अगुल्टो फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ ।
सहर बजारतिर भने छोरीबेटीहरुलाई बोलाएर मिठा परिकारहरु बनाएर खुवाउने प्रचलन छ । यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
साउन महिनालाई पवित्र महिना पनि मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक किम्बदन्ती छ । यसैले यस महिनाभरि खास गरी विवाहित महिलाहरुले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको ब्रत, उपासना, पूजा आराधना गर्ने गर्दछन् । साउनका सबै सोमबार महिलाहरुले महादेवको पूजा गर्दछन् । साउनमा महिलाहरु हरियो पोते, हरियो चुरा र रातो लुगामा सजिएका हुन्छन् । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ ।
यसैविच साउन महिना भरी देशभरका अधिकाँश शिवालयहरुमा मेला लाग्ने गर्दछ काठमाडौंको पशुपतिनाथमा साउन महिनाभर श्रद्धालु महिलाहरुको विशेष घुइँचो लाग्ने गरेको छ ।
Post a Comment