Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भारत र चीनमा राजदूत रिक्त

काठमाडौँ, जेष्ठ ३ गते ।  नेपालका दुई महत्त्वपूर्ण छिमेकी मुलुक भारत र चीनस्थित नियोगमा राजदूत पद रिक्त बनेका छन् । सत्ता परिवर्तन गर्न भूमिका निर्वाह गरेको आरोपमा सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएपछि दिल्लीस्थित नियोग रिक्त बनेको हो । उपाध्याय आइतबार अपराह्न स्वदेश फर्केका छन् ।



चारबर्से कार्यकाल पुरा गरी बेइजिङस्थित नेपाली राजदूत डा.महेशकुमार मास्के वैशाख २७ मा स्वदेश फर्केपछि राजदूत पद रिक्त छ । सरकारले एक महिनाअघि चीनका लागि पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।


तर नियमावली अभावमा संसदीय सुनुवाइ समिति बन्न नसक्दा पाण्डेलगायत २१ मुलुकका लागि सिफारिस भएकाहरूको सुनुवाइप्रक्रिया अघि बढेको छैन । त्यसले चीनलगायत २० मुलुकमा यतिबेला राजदूत पद रिक्त बनेको छ । राजदूत सिफारिस भएका मुलुकमध्ये अस्ट्रियामा नेपाली दूतावास स्थापना हुन बाँकी छ ।

‘नेपालको महत्त्वपूर्ण दुई छिमेकी भारत र चीनमा राजदूत पद लामो समय रिक्त राख्नु हुँदैन । सरकारले यसबारे ध्यान दिनुपर्छ । सक्दो चाँडै राजदूत नियुक्ति सिफारिस अघि बढाइनुपर्छ', पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले अन्नपूर्णसँग भने ।

आचार्यले भारतका लागि नेपाली राजदूत उपाध्यायलाई आवेशमा आएर फिर्ता बोलाएको उल्लेख गर्दै अबका दिनमा राजदूत पद लामो समय रिक्त रहँदा त्यसले कूटनीतिक रूपमा गलत सन्देश जाने बताए ।

‘सरकारले आवेशमा आएर भारतबाट राजदूत फिर्ता बोलाइदियो । अब त्यसले कूटनीतिक रिक्तता हुन्छ नै । त्यस अलावा जनतासँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण विषयसमेत अप्ठ्यारा देखिनेछन्', उनले भने ।

भारतका लागि प्रस्तावित नयाँ राजदूतमा पूर्वमन्त्री माधवप्रसाद घिमिरे र एमाले नेता प्रदीप ज्ञवालीको नाम चर्चामा छ । भारतका लागि नयाँ नेपाली राजदूत नियुक्ति सिफारिस बढाउनेबारे अहिले कुनै छलफल नभएको प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले बताए ।

‘तत्कालै राजदूत नियुक्तिको सिफारिस हुने सम्भावना देख्दिनँ', उनले भने, ‘तर भारत र चीनजस्ता महत्त्वपूर्ण नियोगमा राजदूत पद लामो समय रिक्त रहनु हुँदैन भन्नेमा प्रधानमन्त्री सचेत हुनुहुन्छ ।'

नेपालमा सत्ता परिवर्तन भयैपिच्छे भारतमा राजदूत परिवर्तन गर्ने र आफूअनुकूलका व्यक्ति राजनीतिक कोटामा नियुक्त गर्ने परिपाटी नै बसेको छ । चीनका हकमा पनि यदाकदा त्यस्तै हुने गरेको पाइन्छ । यसैकारण भारत र चीनजस्ता महत्त्वपूर्ण छिमेकी मुलुक बर्सौं राजदूतविहीन हुने गरेका छन् ।

पछिल्लोपटक सन् २०११ मा भारतका लागि नेपाली राजदूत रुक्मशमशेर राणालाई सरकारले फिर्ता बोलाएपछि झन्डै चार वर्ष राजदूत पद रिक्त बनेको थियो । सुशील कोइराला नेतृत्वको सरकारले कांग्रेस नेता उपाध्यायलाई गत वर्ष राजदूत नियुक्त गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget