Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

दशबुँदे घोषणापत्र जारी गर्दै सकियो बौद्ध सम्मेलन

                            ग्लोबल बुद्धिष्ट फोरम बनाउने घोषणा





लुम्बिनी , जेष्ठ ९ गते । बुद्धस्थलहरूको विकासका लागि ग्लोबल बुद्धिष्ट फोरम बनाउनेसहितका दशबुँदे घोषणापत्र जारी गर्दै अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ ।

२५ सय ६०औं बुद्ध जयन्तीको अवसर पारेर काठमाडौंमा ६ र ७ गते आयोजना गरिएको बौद्ध सम्मेलनले तयार पारेको काठमाडौं–लुम्बिनी घोषणापत्र लुम्बिनीमा शनिवार आयोजित बुद्ध जयन्ती समारोहमा सार्वजनिक गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल, मन्त्रीहरू, नेपालका लागि विदेशी राजदूतहरू, बौद्ध भिक्षुहरू, गुरुहरूको बीचमा संस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलले घोषणापत्र सार्वजनिक गरे ।

घोषणापत्र सार्वजनिक गर्दै उनले करीब ५० हजार स्वदेशी–विदेशी पाहुना सम्मेलनमा सहभागी भएको बताए । सबैले बुद्धको जन्मथलो र बौद्ध दर्शनको उद््गम थलोका रूपमा नेपाललाई समर्थन गरेको उनको भनाइ छ । विश्वका २८ मुलुकका बौद्धमार्गी, बुद्धिजीवी र भिक्षुहरू सहभागी सम्मेलनले बुद्ध धर्म एशियाको मात्र ज्योति नभई समग्र विश्वकै ज्योति हो भएको र विश्व शान्तिको प्रस्थान बिन्दु नेपाल हो भन्ने पारित गरेको छ ।

लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी विकासको गुरुयोजना निर्माण गर्ने सम्मेलनबाट घोषणा गरिएको छ । सम्मेलनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सेण्टर फर एक्सिलेन्ट बनाउने घोषणा गरेको छ । मन्त्री पोखरेलका अनुसार बौद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३ सय ८५ जना विद्वान् तथा भिक्षुहरूको सहभागिता थियो ।

बुद्धको जन्मभूमिबाट विश्वले पाठ सिक्नुपर्छ : राष्ट्रपति

लुम्बिनीमा आयोजित बुद्ध जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति र अहिंसाका प्रवर्तक बुद्धको जन्मभूमिबाट विश्वले पाठ सिक्नुपर्नेमा जोड दिएकी छन् । लुम्बिनी भगवान् गौतम बुद्धको जन्मभूमि मात्रै नभएर बुद्ध दर्शनको मुहान भएको उनको भनाइ छ । शान्ति र अहिंसाले नै मुलुकलाई समृद्ध बनाउन सक्ने उनले बताइन् । लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो पूरा गर्न उनले सरकारलाई आग्रहसमेत गरिन् । ‘लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्छ,’ उनले भनिन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नै लुम्बिनी गुरुयोजना पूरा हुने विश्वास दिलाए । लुम्बिनी र अन्य बुद्धस्थलको विकासका लागि सरकारले विशेष ध्यान दिइरहेको उनको भनाइ छ । सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा केन्द्रित रहेको भन्दै उनले विश्वलाई एउटै सूत्रमा बाँध्न सकिने ‘ग्लोबल बुद्धिष्ट फोरम’ बनाउने प्रस्ताव अन्तरराष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकोमा खुशी व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलासुस्ती भएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुद्ध दर्शनले नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव वान–कि मुन, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरुन, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बेगमले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget