Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

भूकम्पपछि मानव बेचबिखन बढ्दो

काठमाडौं , वैशाख २२ गते  २०७२ को भूकम्पपछि मानव बेचबिखन तथा ओसारपसारका घटना १५ देखि २० प्रतिशत बढेको पाइएको छ। 
 

राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनअनुसार भूकम्पपछि एक हजार दुई सय ३३ महिला र बालबालिका हराइरहेका छन्। हराएकामध्ये नेपाल-भारतको सीमा क्षेत्रबाट प्रहरीले एक सय ६१ बालबालिकाको उद्धार गरेको थियो।
 
यसैगरी विवाह गरेर लैजाने बहानामा नेपाली युवतीहरू कोरिया र चीनमा बेचिने घटना बढेको पनि प्रतिवेदनमा छ। प्रतिवेदनअनुसार सन् २००५ देखि २०१३ सम्म एक हजार युवती विवाह गरी कोरिया पुगेका छन् । यीमध्ये तीन सयले खुसीसाथ वैवाहिक जीवन बिताइरहेको र बाँकी युवतीले दासतापूर्ण जीवन बिताइरहेका छन्।
 
डान्स बार, मसाज पार्लर र क्याबिन रेस्टुराँलगायतका मनोरञ्जन उद्योगमा काम गर्ने महिला खाडी मुलुकमा बेचबिखनमा पर्ने गरेका छन्। गैरकानुनी रूपमा मानव अंग मिर्गौला बेचबिखन अर्को बढ्दो समस्याका रूपमा देखा परेको प्रतिवेदनमा औंल्याइएको छ। अध्ययनअनुसार काभ्रेका आठ मिर्गौला बेचबिखनबाट प्रभावित छन्।
 
महिला तथा बालबालिका सेवा निर्देशनालयमा आर्थिक वर्ष २०७०/२०७१ मा पाँच हजार एक सय ६८ जना हराएका व्यक्तिको अभिलेख रहेकोमा ४० प्रतिशत बालिका रहेको पाइएको छ। त्यसैगरी आर्थिक वर्ष २०७१/२०७२ मा नेपाल प्रहरीले विभिन्न नाका र क्षेत्रबाट चार सय २५ जना बालबालिकाको उद्धार गरेको थियो।
 
एकीकृत तथ्यांक प्रणाली अभावमा बेचबिखनका विभिन्न स्वरूपलाई एकिन गर्न कठिन रहेको, कानुन कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको, निगरानी र अनुगमन अझै प्रभावकारी हुन नसकेकोलगायतका निष्कर्ष प्रतिवदेनले निकालेको छ।
 
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय कार्ययोजनाको पुनरावलोकन गरी सबै साना नाका तथा बिन्दुमा निगरानी केन्द्र स्थापना गर्नका लागि गैरसकारी संस्थालाई प्रोत्साहित गर्नुपर्ने, मानव बेचबिखन रोक्ने, दबाउने तथा सजाय गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरदेशी संगठित अपराधसम्बन्धी आलेख (पालेर्मो प्रोटोकल) लाई अनुमोदन गर्नुपर्ने लगायतका सुझाव आयोगले दिएको छ । - रामकला खड्का अन्नपूर्ण पोस्टबाट 

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget