Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

मोर्चाको सिंहदरबार घेराउ गर्ने भनेपछि राजधानीमा सुरक्षा कडा

फायल तस्विर - रेडियो मकालु १०२. १ 

काठमाडौं , वैशाख ३१ गते । मधेसी मोर्चाले जेठ दुईमा सिंहदरबार घेराउ गर्ने घोषणा गरेसँगै राजधानीमा सुरक्षा कडा पारिएको छ । मधेसमा लामो समय आन्दोलन गरे पनि सरकारको यथेष्ट ध्यानाकर्षण हुन नसकेको निष्कर्ष निकाल्दै मोर्चा जेठ २ गते सिंहदरबार घेराउ गरी अन्तर्राष्ट्रियकरण गर्ने दाउमा लागेको विश्लेषण सुरक्षा निकाय र गृह मन्त्रालयको छ ।

विशेषगरी बारा, पर्सा, रौतहट, सिराहा, जनकपुर, धनुषा, महोत्तरी र सर्लाहीबाट हजारौंको संख्यामा कार्यकर्ता राजधानी उतारेर सिंहदरबार घेराउ गरी सांकेतिक रूपमा मधेसको शक्ति प्रदर्शन गर्ने दाउमा मधेसी मोर्चा लागेको निष्कर्ष गृहको छ ।


बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘मधेसी मोर्चाको सिंहदरबार घेराउमा प्रहरी संयमित हुन र सकेसम्म कम बल प्रयोग गर्न' भनेका थिए ।

उनले सीके राउततर्फ केन्द्रित रहँदै, ‘विगतमा समेत मुलुकको सार्वभौमसत्तामाथि धावा बोल्ने, साम्प्रदायिक हिंसा भड्काउनेजस्ता अभिव्यक्ति दिनेमाथि कडाभन्दा कडा निगरानी राख्नु र आवश्यक परे पक्राउ गर्नु' भन्दै कडा निर्देशन दिएका थिए ।

‘विशेष परिस्थितिबाट सिर्जित भएको मधेसी मोर्चाको सिंहदरबार घेराउमा घुसपैठ पनि हुनसक्छ । त्यतातर्फ पनि निगरानी बढाएर व्यापक सुरक्षाकर्मी परिचालन गरी आन्दोलनमा प्रहरी बढी सजग रहनु', अर्यालको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने ।

सिंहदरबार घेराउलाई गृह र सुरक्षा निकायको विश्लेषण यस्तो छ, ‘काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गरेर सकेसम्म राज्यबाटै बल प्रयोग गरोस् र त्यही घटनालाई लिएर सरकारले मधेसीमाथि दमन गर्‌यो भनेर उक्त घटनालाई उत्तेजित बनाई परिस्थितिलाई असामान्य बनाउने र पुनः तराई तथा मधेसमा गएर आन्दोलन गर्ने ।' यो विश्लेषणमा आधारित रहेर महानिरीक्षक अर्यालले बिहीबार प्रहरीलाई इन्टेलिजेन्स बढाएर सुरक्षा तैनाथी गर्न निर्देशन दिएका थिए ।

उपत्यका एआईजी, उपत्यकाका तीनवटै प्रहरी कार्यालयका प्रमुख, अपराध महाशाखाका प्रमुख सम्मिलित सुरक्षा बैठकमा महानिरीक्षक अर्यालले उपत्यका प्रवेश गर्ने नाकामा विशेष सुरक्षा जाँच गर्न निर्देशन दिएका थिए । बैठकमा उपत्यकाका एआईजी प्रतापसिंह थापाले उपत्यकाको सुरक्षावस्था व्यवस्थित पारिएको र मधेसी मोर्चाको सिंहदरबार घेराउलाई लक्षित गरेर प्रहरी परिचालन भइसकेको जानकारी गराएका थिए ।

स्रोतका अनुसार प्रहरीले उपत्यका छिर्ने नाकाबाट आएका लामा रुटका सवारीसाधनमा मधेसी मूलका नागरिकको लगतसमेत निकालेको छ । जसअनुसार दैनिक एक हजार मधेसी मूलका नागरिक उपत्यका प्रवेश गर्ने गरेको रिपोर्ट छ । तीमध्ये केही व्यापारिक र केही विदेश जाने प्रयोजनमा भित्रिएको प्रहरी विश्लेषण छ ।

एआईजी थापाले नाकामा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर सुरक्षाजाँच गर्दै आएको जानकारी गराएका थिए । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चार हजारको संख्यामा सुरक्षाकर्मी परिचालित हुने जानकारी थापाले बैठकमा गराएका थिए । बैठकमा मोर्चाका कार्यकता उत्तेजित र आक्रामक शैलीमा उत्रे पानीको फोहोरा, अश्रुग्यासदेखि लिएर अन्तिममा स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी गोलीसमेत चलाउन प्रहरी पछि पर्न नहुने चर्चा चलेको थियो ।

प्रहरीले विशेषगरी राजधानीका होटेल तथा रेस्टुराँमा निगरानी बढाएको छ । मधेसी मोर्चाले हजारौं संख्यामा कार्यकर्ता उतार्ने जनाएसँगै नयाँ बसपार्कका गेस्ट हाउस, सुन्धाराका होटेल, कालीमाटी, गौशाला धर्मशाला, नयाँबानेश्वरलगायत स्थानमा प्रहरीले सूक्ष्म निगरानी बढाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले राजधानीको सुरक्षा अवस्था सुदृढ पार्न र व्यवस्थित बनाउनइन्टेलिजेन्स बढाएर सम्भावित स्थानमा सूक्ष्म रूपमा प्रहरी परिचालन गरेको जानकारी दिए । - सुवास गोतामे , अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget