Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

[ads-post]

मूल्य विवादले औषधि उत्पादन प्रभावित



काठमाडौं , वैशाख २२ गते  । उद्योगी र सरकारबीचको मूल्यसम्बन्धी विवादले औषधि उत्पादन प्रभावित हुने भएको छ । सरकारले असार पहिलो साताबाट नयाँ मूल्य लागू गर्ने निर्णय गरे पनि आवश्यक तयारी नभएकाले औषधिको उत्पादन प्रभावित हुने भएको हो । नियमित औषधि उत्पादन गरेर बजारमा पठाइरहेका नेपाली औषधि उद्योगहरू हाल नयाँ निर्धारण हुने मूल्यको पर्खाइमा छन् ।
‘नयाँ मूल्य लागू भए सोहीअनुसार ‘प्रिण्टरेट’ राखेर बजारमा पठाउन हुन्थ्यो,’ लोमस फर्मास्युटिकल्सका निर्देशक प्रज्वलजङ्ग पाण्डेले भने, ‘हाल उत्पादन भइरहेका औषधिको बजारीकरण गर्न द्विविधा सृजना भएको छ ।’ ‘छट्टै’ मूल्य निर्धारण नभएर नेपाली औषधिको बजारसमेत गुम्ने खतरा रहेको उनले बताए । ‘मूल्य विवादले उपभोक्तामा समेत नराम्रो सन्देश प्रवाह भइरहेको छ,’ उनले भने, ‘यस्तै अवस्था हुने हो भने नेपाली औषधिले बजार हिस्सासमेत गुमाउने खतरा छ ।’
औषधि व्यवस्था विभागले गत साउन १८ देखि प्रचलनमा रहेको भन्दा २० प्रतिशत घटाएर विभिन्न ९६ प्रकारका औषधिको नयाँ मूल्य लागू गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो, जसलाई ६ महीनाभित्र कार्यान्वयन गरिसक्नुपर्ने भनिए पनि उद्योगीको विरोधले त्यसको म्याद असार मसान्तसम्म थप गरिएको छ । गत चैत १ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन १८ गते जारी गरिएको मूल्यमा आवश्यक परिमार्जनसहितको सुझाव पेश गर्न स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय समितिसमेत गठन गरेको थियो । समितिलाई औषधिको नयाँ मूल्य निर्धारणका सम्भावनाहरूको समेत अध्ययन गर्न भनिएको छ । तर, नयाँ मूल्य निर्धारण गर्न गठन गरिएको समितिको बैठकसमेत बस्न सकेको छैन । औषधि व्यवसायी सङ्घ (एप्पोन)को समेत प्रतिनिधित्व रहेको समितिमा अर्थ, गृह र उद्योग मन्त्रालयका सहसचिव तथा चिकित्सा सेवा महाशाखाका प्रमुख र औषधि व्यवस्था महाशाखाका महानिर्देशकको समेत सहभागिता छ ।
समितिको बैठक बस्न आफूहरूलाई ३ पटक सूचना दिइए पनि तीनैपटक बैठक रद्द भएको एप्पोनका अध्यक्ष शङ्कर घिमिरेले बताए । ‘बैठक बस्ने भनेर तीनपटक सूचना दिइयो । तर, उपस्थिति हुन नसकिने भनेर अन्तिममा क्यान्सिल गरिएको छ,’ उनले भने, ‘बैठकका लागि एप्पोनले सम्पूर्ण तयारी गरे पनि मन्त्रालयका प्रतिनिधिहरूले समय मिलाउन सक्नुभएको छैन ।’
अध्यक्ष घिमिरेका अनुसार एप्पोनको गत चैत १९ गतेको विशेष साधारणसभाबाट औषधिको नयाँ मूल्य निर्धारणसम्बन्धी विभिन्न १५ ओटा आधार तय भएका छन् । कच्चापदार्थको मूल्य, भण्डारण, विद्युत् आपूर्ति, प्राविधि खर्च आदिका आधारमा औषधिको मूल्यनिर्धारण गरिनुपर्ने एप्पोनको विशेष साधारणसभाले निर्णय गरेको छ ।
नयाँ समितिले समेत गत साउन १८ गते लागू गरिएको मूल्यलाई नै सिफारिश गर्ने औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल बताउँछन् । ‘साउन १८ गते लागू गरिएको नयाँ मूल्य नै सम्पूर्ण हिसाबले उपयुक्त छ । तर पनि यसमा व्यवसायीका गुनासा सम्बोधन गर्ने उपायको खोजी हुन्छ,’ उनले भने, ‘व्यवसायीले भनेजस्तै बढाएर नयाँ मूल्य जारी हुने सम्भावना छैन ।’
तर, व्यवसायीहरू सरकारले साउन १८ देखि लागू गरेको मूल्य कार्यान्वयन गर्न नसकिने बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य घटबढ भइरहन्छ । साथै, डलरको भाउ उकालो लाग्ने क्रम छ, जसले औषधिको मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ,’ विजयादीप ल्याबोरेटिजका प्रबन्ध सञ्चालक प्रदीपमान वैद्यले भने, ‘उत्पादनमा लागत बढिरहेका बेला औषधिको मूल्य घटाएर कार्यान्वयन गर्न सकिँदैन ।’  - यादव ओझा , अभियानबाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget